बैतडी । केही दिनसम्म खोक्ने, हाच्छ्युँ गर्ने, टाउको सुन्निने, आख्रामा पिप्रा आउने तथा र्याल काढ्ने लक्षण देखिएपछि बैतडीको मेलौली नगरपालिका-५ का किसानले पालेका बाख्रा मर्दै गएकाछन् ।
‘एक महिनाको अवधिमा मैले पालेका पाँच बाख्रा मरिसकेका छन् । एक खसी त करिब ४० किलोको थियो । बेच्न ठिक्क भएका खसी बाख्रा मरेपछि मलाई झण्डै एक लाख रुपयाँ बराबरको नोक्सान भयो । बाख्रा मर्न थालेपछि व्यवसाय संकटमा परेको छ ।’ मेलौली-५ का गंगा पोख्रेलले बताउनु भयाे ।
गत एक महिनाको अवधिमा मेलौली-५ का करिब २० बाख्रा मरिसकेको स्थानीय किसान भरत पोख्रेलले बताउनु भयाे । उहाँले भन्नुभयाे,‘कसैका एक/दुई बाख्रा मरेका छन् भने, कसैका चार/पाँच बाख्रा मरेकाछन् । अधिकांश किसानका बाख्रा अझै पनि बिरामी भएका छन् ।’
बाख्रामा एक्कासि आएको रोगले पशुपालन व्यवसाय नै संकटमा परेको अर्का किसान वीरेन्द्र पोख्रेलले बताउनुभयाे । नगरपालिकाको पशु शाखामा खबर गरेर खोप लगाएको र खोप लगाए पनि केही बाख्रा मरेको उहाँले बताउनु भयाे ।
केही बाख्रामा समस्या देखिएपछि वडामा रहेका पशु प्राविधिकलाई समस्या बारे जानकारी लिन गाउँमा पठाएको नगरपालिकाका कृषि शाखा प्रमुख कमलापति भट्टराईले बताउनु भयाे । बाख्राहरूमा निमोनियाका जस्ता लक्षण देखिएको उहाँले बताउनु भयाे।
बाख्रामा जटिल समस्या देखिएको मेलौली-५ का वडाध्यक्ष बलभद्र दयालले बताउनु भयाे । बाख्राहरूमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकार र संघ सरकारको कृषि मन्त्रालयसँग उहाँले आग्रह गर्नुभयाे ।