विनोद ढुंगाना/ तनहुँ, ८ माघ । काठमाडौँको व्यवसाय राम्रै चल्दै थियो । दुग्ध विकास संस्थान (डिडिसी) को डिलर लिएर काठमाडौँमा दुई वटा डेरी चलाइरहेका थिए उनले । काठमाडौँमै पढेर त्यही व्यवसाय थालेका थिए । व्यवसायमा जम्दै गरेका सुनिलकमुार श्रेष्ठलाई गाउँ फर्कने सोच र सोख दुवै थिएन । काठमाडौँको खाल्टोमा उनी रमाइरहेका थिए । तर जम्दै गरेको उनको व्यवसायमा कोरोना कहर बाधा बनिदियो ।
पहिलो चरणमा कोरोना रोकथामका लागि भएको लकडाउन देश ठप्प भयो । डेरी पसल भएकाले दुई घन्टा त खोल्न पाउँथे सुनिलकुमारले, तर व्यापार दैनिक खस्किँदो थ्यो । व्यापार यतिसम्म भद्रगोल भएछ कि भाडा तिर्न पनि धौ धौ भयो उनलाई । ‘एकैदिनमा हुने लाखको व्यापार हजारमा झर्यो । तैपनि आशा थियो पहिलेको जस्तै व्यापार होला भनेर । फेरि कोरोनाको दोस्रो लहर सुरु भयो । व्यापार त झनै चौपट हुने लक्षण देखियो । दोस्रो लहरको कोरोना सुरु हुँदै गर्दा अन्य लहरको पनि चेतावनी आइसकेको थियो’, उनी सम्झन्छन् ।
दोस्रो लहरको कोरोनाले फेरि लकडाउन हुन थालेपछि उनले विकल्पको बाटो खोज्न थाले । पहिलो चरणको लकडाउन हुँदादेखि नै युट्युबतिर खुब चाख मानेर हेर्थे रे उनले टर्की र कालिज पालन बारेका भिडियोहरू । सुरुमा उनलाई टर्की पाल्ने रहर जागेछ । भिडियो हेर्दा हेर्दै उनलाई टर्की पालनको रहर फेरिएर कालिज पालनको जागेछ । जुनबेला राजधानी सहर काठमाडौँमा कोरोनाको जगजगीले एकातिर व्यापार खस्किरहेको थियो । अर्कोतिर कोरोनाले ज्यानै लिन्छ कि भन्ने पिरलो ! र पो उनले निधो गरेछन् कोरोनाको जगजगीमा उकुसमुकुस भएर बाँच्नु भन्दा गाउँ फर्किएर पुर्ख्याैली थलोमा कालिज पाल्ने । जहाँ खुलेर बाँच्न पाइने, कालिज पाल्न जागेको उनको रहर पूरा पनि हुने ।
तनहुँको बन्दीपुर गाउँपालिका-४ लोहीपाखा लालपूर्ण बस्तीमा रहेको गाउँको जग्गा बेच्ने तरखरमा थिए सुनिलका बुबा कृष्णकुमार । एक्लो छोरा काठमाडौँ छाडेर गाउँ नफर्केने संकेतले बुढेसकालमा पुर्ख्याैली थलो बेचेर काठमाडौँ परिवारसँगै बस्नलाई कृष्णकुमारले जग्गा बेच्न खोज्दै थिए । त्यही बेला छोरा सुनिलले भनेछन्, ‘जग्गा नबेचौँ बुवा । म गाउँको जग्गामा कालिज पाल्छु ।’
गत वैशाखमा काठमाडौँको दुईमध्ये एउटा डेरी बिक्री गरेर राजधानीमा रमाइरहेका श्रेष्ठ गाउँ फर्किए । पुर्ख्याैली थलोमा उनले कालिज पाल्ने संरचना बनाउन थाले । वैशाखमा उनले दुई हजार कालिजका चल्ला ल्याएर हुर्काउन थाले । काठमाडौँमा डेरीमा आउने ग्राहकसँग दूध, दही, घ्यू, पनिर, आईसक्रिम बेचिरहने उनै सुनिलकुमार हिजाेआज गाउँमा कालिजसँग रमाइरहेका छन् ।
बिहान झिसमिसेदेखी साँझ अबेरसम्म कृष्णको ज्ञान एकीकृत कृषि फार्म प्रालिमा हुर्किएका कालिजसँगै हुन्छन् उनी । कहिले मकैको दाना दिन्छन् त कहिले बारीबाट काटेर ल्याएको घाँस कालिजलाई चारो बनाएर खुवाउँछन् । बेलामौकामा आफूले पालेकोे कालिज हेर्न आएकासँग आफ्नो अनभुव बाँड्दै गरेको भेटिन्छन् उनी । कहिलेकाहीँ ग्राहकलाई कालिज जोखेर बिक्री गर्दै हुन्छन् । हुर्किएर बेच्ने बेला भएका कालिजसँगै उनले देखेको सपनाले पनि आकार लिन थाल्दैछ विस्तारै ।
पृथ्वी राजमार्गबाट झन्डै तीन सय मिटर माथिपट्टि रहेको भिरालो जग्गा सम्याएर सुनिलले कालिज पालन थालेका छन् । राजमार्गदेखि कालिज फार्मसम्म पुग्ने सडक, जग्गा सम्याउने, कालिजका पाल्ने ठाउँमा तारबार गर्ने, घर बनाउने र रेष्टुरेन्ट सञ्चालन गर्नलाई उनले डेढ करोड रुपैयाँ लगानी गरेको बताए । फार्ममा पालिएको कालिज दशैँदेखि बिक्री गर्न थालेको उनी बताउँछन् । भाले कलिजलाई प्रतिगोटा तीन हजार रुपैयाँका दरले धमाधम बिक्री भइरहेको छ । दशैँयता चार सय कालिज बिक्री भइसकेको उनले जनाए । ‘पोथी पाल्न लानेलाई मात्रै बेच्छौँ । नत्र बेचेको छैन । पोथीलाई यहीँ राखेर अब चल्ला उत्पादन गरेर बिक्री गर्ने लक्ष्य छ’, उनले सुनाए ।
कालिजको बजार विस्तार भइरहेको श्रेष्ठको अनुभव छ । उनी भन्छन्, ‘एकपटक स्वाद लिएपछि रुचाउँछन्, दोहोर्याई तेहेर्याई आउँछन् । तर स्वाद नपाएकाहरूले महँगो भन्छन् । हुन पनि एउटैको तीन हजार मूल्य पर्ने भएकाले पनि होला भंयकर राम्रो बजार चाहिँ तत्काललाई छैन ।’ कालिज फार्मसँगै रेष्टुरेन्ट पनि चलाइरहेकाले उनलाई बजार नै नपाउने समस्या भने छैन ।
उनको फार्म हेर्न र कालिजको स्वाद चाख्नलाई तनहुँको डुम्रे, बन्दीपुर, आँबुखैरेनी दमौली र गोरखाको पालुङटारबाट बढी आउँछन् । ‘कहिलेकाहीँ पृथ्वी राजमार्गमा यात्रा गर्नेहरू पनि बोर्ड देखेर आउनुहुन्छ’, उनले भने । कालिज पालनलाई विस्तार गर्दै उनले फार्म परिसरमा पिकनिक स्पट र फनपार्कको योजना बनाएको बताउँछन् ।
वैशाखयता गाउँमा आएर कालिज पालन थालेपछि अथाह सन्तुष्टि मिलेको छ उनलाई । ‘पहिला उता काठमाडौँको रमझममा हराएको थिएँ । यहाँ आएर कालिज पाल्न थालेपछि थाहा भो वास्तविक खुसी त गाउँमा पो रहेछ । जसले गर्दा मेरो पहिचान पनि बनेको छ’, उनले भने ।
सुनिकुमारलाई मिलेको सन्तुष्टिभन्दा बढी बुवा कृष्णकुमारलाई खुसी मिलेको छ । किनकि कृष्णकुमार पहिल्यैदेखि कृषि कर्ममा रमाइरहेका थिए । तीन सय रोपनी जग्गामा उनले एभोकाडो, लप्सी र लिची लगाएका थिए । सोचे जस्तो फल भने पाएका थिएनन् उनले । बेच्नलाई तरखर गरेको जग्गामा छोरा गाउँ फर्किएर कालिज पाल्न थालेपछि आफ्नो कर्मलाई छोराले पनि पछ्याएको महसुस गरेको बताउँछन् ।
उनी भन्छन्, ‘पहिलामा म बारीमा रमाउँदा उसले चित्त दुखाउथ्यो । नबोले पनि बा ले पैसा फाल्यो बेकारमा भन्ने भावना बुझिन्थ्यो उस्को । बरु घरघडेरी जोडे हुन्थ्यो भन्थ्यो । अहिले कहाँबाट प्रेरित भएर झन्डै बिक्री भएको जग्गामा कालिज पाल्छु भन्यो । म त दंग परे । खुसी पनि लाग्यो, देशका लागि छोरा कृषि कर्ममा जोडियो भनेर ।’ उत्पादनमा लाग्नु भनेको देशलाई समृद्धि दिशामा लैजान सघाउनु हो कृष्णकुमारको बुझाइमा ।